स्कुल बस दुर्घटना बारे छानबिन गर्न समिति गठन

स्कुल बस दुर्घटना बारे छानबिन गर्न समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखरा महानगरपालिकाले पोखरा–२८ मा आज भएको कालिका बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।

समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

माझठानाबाट विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थी सहित ५ जनाको मृत्यु हुनाका साथै १४ जना विद्यार्थी घाइते छन् ।

महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न, घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन, छानबिन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्न समिति गठन गरिएको हो ।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा आवश्यक सुझावसमेत प्रस्तुत गर्नेछ ।