लामिछानेविरुद्धको मुद्दामा बारा, पर्सा र धादिङका सरकारी वकिलले गरे बहस

लामिछानेविरुद्धको मुद्दामा बारा, पर्सा र धादिङका सरकारी वकिलले गरे बहस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– महान्यायाधिवक्ता कार्यालयले चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस तीन जिल्लाका सरकारी वकिललाई चितवन जिल्ला अदालतमा उपस्थित गराएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा बारा, पर्सा र धादिङका सरकारी वकिल चितवन जिल्ला अदालतमा पुगेर लामिछानेविरुद्ध बहस गरेका छन् । लामिछानेविरुद्धको ठगी मुद्दामा बाराका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्गका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीले चितवन अदालत पुगेर बहस गरेका हुन् ।

उनीहरूसँगै लामिछानेविरुद्धको मुद्दामा चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापाले पनि बहस गरेका छन् ।

‘नेपाल सरकारको मुद्दामा कमजोर बहस नहोस् जोडतोडले तथ्यहरु आउन सकुन् भनेर तीन जिल्ला न्यायाधिवक्तालाई चितवन पठाइएको हो,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘जिल्लाका सरकारी वकिलको बहसलाई थप बल प्रदान गर्न पठाइएको हो ।’

सहकारी ठगी मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।

सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौला वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमले बहस गर्न वकालतनामा दर्ता गराएका छन् ।

जाहेरवालाका तर्फका वकिलले बहस सकेपछि लामिछानको तर्फबाट ११ जनाले बहस गर्ने वकालतनामा टिपाएको जिल्ला अदालत चितवनले जनाएको छ ।