जर्मनीस्थित दूतावासले भन्यो-कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्नू

जर्मनीस्थित दूतावासले भन्यो-कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-जर्मनीस्थित नेपाली दूतावासले कुनै पनि बहानामा युक्रेन प्रवेश नगर्न नेपालीहरूलाई आग्रह गरेको छ ।

नेपाली दूतावासले सूचना जारी गर्दै युक्रेन पुगेर विपद्मा परेको अवस्थामा उद्धारको लागि अत्यन्त कठिन हुने भएकाले कुनै पनि अवस्थामा युक्रेन प्रवेश नगर्न अनुरोध गरेको हो ।

दूतावासको सूचनामा विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान आग्रह पनि गरेको छ । मानव तस्करहरूको प्रलोभनमा परि अझै पनि छिटपुट रूपमा नेपाली नागरिकहरू युक्रेन आएको पाइएको दूतावासले भनेको छ ।

सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई प्रवेशाज्ञा जारी नगर्ने निर्णय गरेको दूतावासले जनाएको छ ।

दूतावासले अध्यागमन कानून उल्लंघनका कारण गत मई महिनादेखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिकलाई दूतावासको अथक र निरन्तर प्रयासमा उद्धार गरिएको जनाएको छ ।

भारतको नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमा ३ महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो ।

उद्धारको लागि युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन, सीमा सुरक्षा गार्डहरू, युक्रेनको किभस्थित मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतको सहयोग लिएर युक्रेनबाट बिहीबार उद्धार गरी मोल्डोभाबाट नेपाल फर्काइएको सूचनामा उल्लेख छ ।

नेपाल फर्कनका लागि ती नेपालीहरूको आवश्यक हवाईजहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको छ ।