काठमाण्डु– जनता समाजवादी पार्टी(जसपा) नेपालले अध्यादेश ल्याउने बेलामा छलफल नगरेको भन्दै सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेससँग असन्तुष्टि जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा पारित गर्न आफूहरूको सहयोग चाहिने भएमा अध्यादेश ल्याउनुभन्दा पहिला किन छलफल नगरेको भनेर असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष यादवले आफूले ‘अध्यादेश आउने बेलामा किन छलफल गरिएन ? हाम्रो पनि साथ त चाहिने रहेछ, हतार किन गर्नुभयो ? सहमतिमा गर्नुपर्ने थिएन ?,’ भनेर भेटमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई सोधेको जानकारी दिए ।
सरकारले खास काम गर्दा पहिला नै सल्लाह गरेको भए निर्णय दिन सकिन्थ्यो भन्ने जवाफ आफूले दुई नेतालाई दिएको यादवले बताए ।
अध्यादेशलाई समर्थन गर्ने, नगर्ने विषयमा शनिबार (भोलि) बस्ने संसदीय दलले निर्णय लिने यादवले बताए । ‘पार्टीमा, दलमा छलफल गरेर अध्यादेशबारे शनिबार निर्णय पुग्छौँ,’यादवले भने ।
अध्यादेशको बारेमा आफूले पहिला पनि फरक मत राखेकोले अहिले पनि पार्टीमा छलफलपछि मात्रै निर्णयमा पुग्ने बताएको यादवको तर्क थियो । ‘मैले केही अध्यादेशको सन्दर्भमा पहिला फरक मत राखेको थिएँ । अहिले आएका अध्यादेशमा समेटिएका विषयवस्तु के छन्, हेरेर मात्रै एकिन भन्न सकिन्छ, ’ यादव भन्छन् ।
सरकारबारे ओली र देउवासँगको भेटमा कुराकानी नै नभएको यादवले बताए । ‘म आफैँ सरकारमा जानलाई बार्गेनिङ गरेको भनेर मिडियामा आएको देखेर छक्क परेँ । कसले त्यो कुरा गरेको हो ? भित्र त्यो कुरा नै भएको छैन,’ यादवले भने ।
सरकारमा सहभागी हुन ओली र देउवाले आग्रह गरेको तर, आफूले पार्टीमा सल्लाह गर्छु भनेको यादवले बताए ।




प्रतिक्रिया