काठमाण्डु – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलको गाजा क्षेत्र खाली गराउने योजना रहेको बताएका छन् । ट्रम्पको यो योजनालाई धेरैले उनको ‘पागलपन’को संज्ञा दिएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले अघि सारेको गाजा क्षेत्र खाली गराउने योजना कार्यान्वयन हुन सम्भव छैन । त्यो कार्यान्वयन गर्न अरब राष्ट्रहरूको समर्थन चाहिन्छ । तर उनीहरूले त्यसो गर्न अस्वीकार गरिसकेका छन् ।
गाजामा बस्ने प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टले अंगिकार गरिदिऊन् भन्ने ट्रम्पको इच्छा छ । त्यसको खर्च साउदी अरबले गरोस् भन्ने उनी चाहन्छन् ।
ट्रम्पको योजनाअनुसार १० लाख मानिसहरू गाजाबाट बाहिरिए पनि बाँकी १२ लाख प्यालेस्टिनी गाजामै रहने छन् ।
ट्रम्पले गाजालाई मध्यपूर्वको बिदा मनाउन जाने लोकप्रिय थलो बनाउने घोषणा गरेका छन् । सन् २००३ मा अमेरिकाले त्यस क्षेत्रमा हस्तक्षेप गर्दा अमेरिकाले ठूलै क्षति बेहोर्नुपरेको थियो । त्यस परिप्रेक्ष्यमा ट्रम्पले अघि सारेको अहिलेको योजना अमेरिकामा निकै अलोकप्रिय बन्न सक्छ ।
उनको योजनाले लामो समयदेखि जीवित रहेको दुई राज्य बनाएर समस्या समाधान गर्ने आशा पनि तुहिने छ । इजरायलजस्तै स्वतन्त्र प्यालेस्टाइन राष्ट्र बनाउने अपेक्षाका कारण एक शताब्दीदेखि द्वन्द्व चल्दै आएको छ ।
इजरायल र हमासबीच भएका शान्तिवार्ताहरू वर्षौँदेखि निष्कर्षमा पुग्न विफल हुँदै आएका छन् । अनि दुईथरी मानिसका लागि दुई राज्य नारामा मात्रै सीमित भएको छ ।
तर सन् १९९० को दशकको आरम्भदेखि यो अमेरिकी विदेशनीतिको प्रमुख विषय बनेको छ । नियममा आधारित अन्तर्राष्ट्रिय सुव्यवस्थामा विश्वास गर्ने अमेरिकी नारा पनि यसले अन्त्य गर्नेछ । यससँगै युक्रेनी भूमिमा रुसको महत्वाकांक्षा र ताइवानमा चीनको दाबीमा पनि बल पुग्नेछ ।
ट्रम्पका शब्दबाट इजलायली प्रधामनन्त्री बेन्जमिन नेतन्याहू प्रसन्न छन् । तर ट्रम्पले वाशिङ्टनमा घोषणा गरे जसरी योजना व्यवहारमा लागु नहुने भएकाले त्यसबारे चिन्तित हुनु जरुरी छ ।
उनी समाचारमा देखा पर्न चाहने र राजनीतिक नेतृत्वमा पुग्ने सपना राख्ने सामान्य व्यक्ति नभई संसारको सबैभन्दा शक्तिशाली मानिने देश संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् । ट्रम्पको गाजा खाली गराउने घोषणाले गाजामा जारी युद्धविरामलाई कमजोर पारिदिन सक्छ ।
यसले उग्रराष्ट्रवादी यहुदी चरमपन्थीहरूका योजना र चाहनालाई मलजल प्रदान गर्ने छ । उनीहरू भूमध्यसागर र जोर्डन नदीबीच पर्ने सबै भूमि र त्यसबाहेक सम्भवतः अरू ठाउँ पनि ईश्वरले यहुदीहरूलाई दिएको र त्यसमा आफ्नो स्वामित्व भएको मान्यता राख्छन् ।
इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि नै ट्रम्पले गाजाको भविष्यबारे उत्तर दिइसकेका थिए ।
इजरायलका मध्यमार्गी विपक्षी नेताहरू त्यति चलाख देखिँदैनन्, सम्भवतः पछि समस्या उत्पन्न हुने डरले । तर उनीहरूले संयमित भएर ट्रम्पको योजनाको स्वागत गरेका छन् । सन् १९४८ मा इजरेलले स्वतन्त्रताको युद्ध जितेपछि ठूलो संख्यामा प्यालेस्टिनीहरूको बहिर्गमन भएको थियो ।
त्यतिबेला सात लाखभन्दा बढी प्यालेस्टिनीहरू भागेका थिए । उनीहरूलाई इजरायली फौजले आफ्नो घर छोड्न बाध्य पारेको थियो । केही व्यक्तिबाहेक अरूलाई कहिल्यै आफ्नो भूमिमा फर्किन दिइएन । उनीहरूको सर्वस्व हरण गर्ने गरी बनाइएको कानुन अझै पनि इजरायललमा प्रचलनमा छ ।
धेरै प्यालेस्टिनीहरू इजरायललले हमासविरुद्धको युद्धको नाममा गाजालाई ध्वस्त पार्न र प्यालेस्टिनीहरूलाई त्यहाँबाट धपाउन खोजेको मान्यता राख्छन् ।
ट्रम्पले कुनै कुरा भन्दैमा त्यो सत्य हुन्छ भन्ने छैन । उनका वक्तव्यहरू संयुक्त राज्य अमेरिकाको स्थापित नीतिभन्दा पनि घरजग्गाको मोलमोलाइ गर्दा प्रायः सुरुमा भनिने कुराजस्ता हुन्छन् ।




प्रतिक्रिया