गाजा कब्जा गर्ने ट्रम्प योजनाको चौतर्फी विरोध

गाजा कब्जा गर्ने ट्रम्प योजनाको चौतर्फी विरोध


काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्तै सार्ने गरेको घोषणाको चौतर्फी विरोध भइरहेको छ ।

प्यालेस्टाइन, प्यालेस्टिनी लडाकु समूह हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् ।

अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिने र त्यहाँ रहेका सबै खतरनाक विस्फोटक बम र अन्य हतियार नष्ट गर्ने बताएका थिए ।

नेतन्याहू ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि ह्वाइट हाउस भ्रमण गर्ने पहिलो विदेशी नेता हुने । यो भेटवार्तामा अमेरिकाले गाजा पट्टीलाई नियन्त्रण लिने र त्यहाँका मानिसलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ । तर प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।

साथै प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ता अब्देल लतिफ अल–कानोउले पनि ट्रम्पको प्रस्ताव अस्वीकार्य रहेको जनाएका छन् ।

उनले अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानुन र प्यालेस्टिनी नागरिकको आफ्नो भूमिमा आधारभूत अधिकारको विरोध गर्ने यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीबाट पछि हट्न आह्वान समेत गरेका छने ।

त्यस्तै, गाजाका प्यालेस्टिनीहरूले पनि ट्रम्पको पुनर्वास योजनाको विरोध गरेका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको टिप्पणीको विरोध गर्दै इजरायल–प्यालेस्टाइनको अस्तित्व नै समस्याको समाधान भएको टिप्प्णी गरेका छन् ।

१५ महिना लामो युद्धपछि गाजामा दुई हप्ताअघि युद्धविराम भएको थियो । हमास समूहले सन् २०२३ को अक्टुबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि दुई पक्ष हमास र इजरायलबीच युद्ध शुरू भएको थियो ।