काठमाण्डु- अमेरिकाको पश्चिमी अलास्काको नोमतर्फ जाँदै गरेको एक सानो यात्रुवाहक विमान दुर्घटना भएको छ । विमान शुक्रबार समुन्द्री बरफमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । विमानमा ९ जना यात्रु र एक पाइलट थिए । उडेको एक घण्टा नबित्दै विमानस्थलका अधिकारीहरूसँग विमानको सम्पर्क टुटेको थियो ।
अमेरिकी तटरक्षक दलका प्रवक्ता माइक सालेर्नोले उद्धारकर्ताहरूले विमानको अन्तिम ज्ञात स्थान नजिकै हेलिकप्टरबाट खोजी गर्दा विमानको भग्नावशेष फेला पारेको जानकारी दिएका छने ।
यो दुर्घटना अमेरिकामा हालैका दिनहरूमा भएका उड्डयन दुर्घटनाहरूको शृंखलाको निरन्तरता हो ।
जनवरी २९ मा अमेरिकाको राजधानी नजिकै एक व्यावसायिक विमान र सेनाको हेलिकप्टर ठोक्किएर ६७ जनाको मृत्यु भएको थियो । त्यसपछि जनवरी ३१ मा फिलाडेल्फियामा एक चिकित्सा यातायात विमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।




प्रतिक्रिया