इमेज सहकारीका बचतकर्ताको रकम फिर्ता

इमेज सहकारीका बचतकर्ताको रकम फिर्ता


काठमाण्डु- बाग्लुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५४७ जना बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरिएको हो । जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि १ लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।

ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । उनका अनुसार दुई दिनमा १ करोड रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएकाृे हो ।

गल्कोट र ढोरपाटनका ५४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ ।

पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरिएको थियो ।

बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ ।

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँच सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन् ।