पुनले फोन संवाद सार्वजनिक गरेकोमा पोखरेलले जनाए आपत्ति

पुनले फोन संवाद सार्वजनिक गरेकोमा पोखरेलले जनाए आपत्ति


काठमाण्डु- आफूसँग भएको फोन संवाद माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सार्वजनिक गरेपछि एमालेका महासचिव शंकर पोखरेलले टिप्प्णी गरेका छन् ।

उपमहासचिव पुनले शनिबार आफूलाई फोन गरेर पोखरेलले अध्यादेश पारितका लागि सहयोग मागेको बताएका थिए । माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा पुनले पोखरेलले सहयोग मागेर आफूलाई टेलिफोन गरेको बताएका थिए ।

पुनले भनेका थिए, ‘राष्ट्रियसभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ । आज मात्रै म पाल्पामा आइपुग्दा एमालेका महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो ।’

आफूसँग भएको फोन संवाद पुनले सार्वजनिक गरेपछि पोखरेलले असन्तुष्टि जनाएका छन् । पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनसँग गुनासो गरेका हुन् ।

‘नेताहरूका बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो’, महासचिव पोखरेलले लेखेका छन्, ‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समयसमयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ । अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन्। त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन ।’

पोखरेलले वर्षमानले भनेजस्तो अध्यादेश पारितका लागि आफूले याचना नगरेको दाबी पनि गरेका छन् । ‘जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्पिरिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिनँ’, उनले भनेका छन्, ‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन, सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तोः संक्रमणकालीन न्यायको विषयमा ।’