अब म मुकुमलुङ पदयात्रामा जान्छु : अध्यक्ष महतो

अब म मुकुमलुङ पदयात्रामा जान्छु : अध्यक्ष महतो


काठमाण्डु – वार्ताबाट समस्या समाधान गर्न सरकार इमान्दार नभएको भन्दै ‘नो केवलकार समूह’ले आन्दोलनको घोषणा गरेको छ ।

समूहले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पदयात्रा गर्ने बताए । आन्दोलनको कार्यक्रममध्ये फागुन ६–८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ ।

उनले भने, ‘८ गते सामाजिक न्याय दिवस हो, त्यस अवसरमा मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति म त्यहाँ जान्छु, तपाईंहरू पनि जाऔं र विशाल पदयात्रा गरौं । अब लिम्बू एक्लै लड्दैन, अब कुनै समुदाय एक्लाएक्लै लड्न जरुरी छैन । डिभाइड एण्ड रुल अब चल्दैन । छुट्टाछुट्टै लडोस् भनेर नै कोहीकोही बहारियाहरू यो आन्दोलनमा आउनु भन्ने भाष्य निर्माण गर्न खोज्दैछ तर अब त्यो हुँदैन । अब हामी मिलेर लड्छौं ।’

सरकार निरंकुशतातर्फ अघि बढेको बताउँदै उनले सरकारले बोल्न पाइँदैन भन्ने आशयको कानून ल्याउन खोजेको बताए । ‘माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपूर्ण संघर्ष गर्नेहरूउपर गोली चलाउनु यी सबै निरंकुशताको उदाहरण हो,’ उनले भने, ‘अब वार्तासार्तामा बोलाइरहनु जरुरी छैन, त्यहाँ केवलकार बन्दैन, निर्णय गरे पुग्छ ।’

माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरिएको थियो । सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए । ‘अबको आन्दोलन अझै सशक्त हुन्छ,’ उनले भने ।

आन्दोलनकारीले केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङ्लिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाण्डु, इटहरी र बिर्तामोडमा विरोधसभा गर्ने भएका छन् ।

यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने चेतावनी दिएका छन् ।