काठमाण्डु– प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रले आकस्मिक र शून्य समय सकिएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको भन्दै आपत्ति जनाएपछि बैठक अबरुद्ध बनेको हो ।
सुन्य समय चलिरहेका बेला सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरी खतिवडालाई बोल्न समय दिइन् । खतिवडाले रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको,मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाए ।
शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए ।
खतिवडाको अभिव्यक्तिपछि रास्वपा सांसद र उपसभामुख नै आम्ने साम्ने भएका थिए । केहीबेरमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावली अनुसार नचलिरहेको बताए ।
त्यसपश्चात सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरे ।




प्रतिक्रिया