काठमाण्डु-हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजामा युद्ध सुरु गर्ने धम्की दिएका छन् । यदि हमासले शनिबारसम्म इजरायली बन्धकहरूलाई रिहा गरेन भने गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्ने नेतान्याहूले बताएका छन् ।
बीबीसीका अनुसार नेतान्याहूले इजरायली सेनालाई गाजा र वरपर जम्मा हुन निर्देश दिएका छन् । हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि नेतान्याहूको धम्की आएको हो । उनले शनिबारसम्ममा बाँकी सबै ७६ बन्धकहरूको रिहाइ गर्न हमासलाई भनेका हुन् ।
यसअघि हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ रोकेको जनाएको थियो । युद्धविराम सम्झौता उल्लंघनको दाबीलाई इजरायलले अस्वीकार गरेको छ ।
त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यदि हमासले बन्धक बनाइएका सबै नागरिकहरूलाई शनिबारसम्म रिहा नगरे इजरायलले युद्धविराम सम्झौता अन्त्य गर्नसक्छ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । जवाफमा हमासले सम्झौता कार्यान्वयनमा इजरायलमाथि दबाब बनाउनुपर्ने भनेको थियो । हमासले ट्रम्पको धम्कीको कुनै अर्थ नभएको भनेको छ ।
हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले ५६६ प्यालेस्टाइनीलाई रिहा गरेको छ । सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको मृत्यु भएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।
यो सम्झौतासँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही अन्तर्गत शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो । तर,हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरेली बन्धकहरु रहेको अनुमान छ ।




प्रतिक्रिया