काठमाण्डु- तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा बिहीबार जनयुद्ध दिवस मनाइँदैछ ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।
२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।
यसैबीच माओवादी केन्द्रले जितेका कोशी प्रदेशका ७ वटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् ।
यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो ।
कार्यपालिकामा बहुमत पुग्ने पालिकाले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिए ।
यता, सर्वाेच्च अदालतले ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा नदिन अन्तरिम आदेश दिएको छ ।
रुकुमपश्चिमको बाफिकोट गाउँपालिकाले फागुन १ गते दिएको ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।




प्रतिक्रिया