काठमाण्डु-अमेरिका भ्रमणमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्तामा बंगलादेशको चर्चा भएको छ । भेटमा ट्रम्पले बंगलादेशको सत्ता परिवर्तनमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका छन् ।
मोदीसँग भेटवार्तापछि ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘बंगलादेशबारे तपाईं के भन्न चाहनुहुन्छ?’
जवाफमा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन । यसमा प्रधानमन्त्री (मोदी) लामो समयदेखि काम गरिरहनुभएको छ ।’
बंगलादेशमा विरोध प्रदर्शन चर्किएपछि गत अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन् । हाल उनी भारतमै छिन् ।
यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । बंगलादेशको वर्तमान सरकारले भारतलाई हसिनालाई देश फिर्ता पठाउन बारम्बार आग्रह गरिरहेको छ ।
ट्रम्पसँगको भेटवार्तामा मोदीे भन्सार महसुल, अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय नागरिकको फिर्तीलगायत विषयमा पनि कुराकानी गरेका छन् ।
मोदीले “भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित” गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे।
व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ। ‘हाम्रो गजबको सम्बन्ध छ,’ अमेरिकाको राजधानीमा बिहीवार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने।
उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ-३५ लडाकु जेट समेत दिने बताए।
भारतीय उद्योगपति तथा अदानी समूहका मालिक गौतम अदानीविरुद्ध अमेरिकामा लागेको घुसखोरी अभियोगबारे पनि मोदीले प्रतिक्रिया दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका मोदीलाई त्यहाँ सोधिएको थियो, ‘तपाईंले ट्रम्पसँग गौतम अदानी मुद्दाबारे छलफल गर्नुभयो? अनि ट्रम्पलाई यस विषयमा कारबाही गर्न भन्नुभयो?’
जवाफमा मोदीले भने, ‘भारत एक लोकतान्त्रिक देश हो । हाम्रा मूल्यमान्यता र संस्कृति वसुधैव कुटुम्बकम हो ।’
उनले थपे, ‘हामी सम्पूर्ण विश्वलाई एक परिवार मान्दछौँ र म प्रत्येक भारतीयलाई आफ्नो परिवार मान्दछु। यस्ता व्यक्तिगत मामिलाका लागि दुई देशका प्रमुखहरू न त भेट्छन्, न बस्छन्, न त कुरा गर्छन् ।’
हालै अमेरिकामा अदानीविरुद्ध आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो ।
ट्रम्पसँगको पत्रकार सम्मेलनमा मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धबारे भारतको धारणा राखे ।
‘मानिसहरू सोच्छन्–भारत रुस–युक्रेन द्वन्द्वमा तटस्थ रह्यो, तर यो गलत हो,’ उनले भने, ‘भारत शान्तिको पक्षमा रहेको छ । दुबै पक्षले वार्ता गर्नुपर्छ भनेर हामीले सधैं भन्दै आएका छौं ।’
मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसासमेत गरे । ट्रम्पले भने रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग भएको फोन वार्ताका बारेमा बताए । वार्ताले युक्रेनमा युद्ध अन्त्य गर्ने सुरुवात गर्नेमा उनले आशा पनि व्यक्त गरे ।




प्रतिक्रिया