काठमाण्डु – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक सुदूरपश्चिम प्रदेशले पाएको हाे ।
सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा रहेकाे थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ। उसले ५०.९ प्राप्त गरेको छ। त्यस्तै बागमतीले ४५.६, कर्णालीले ४१.६, गण्डकीले ४०.८ र लुम्बिनीले ३५.९ अंक प्राप्त गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ, मधेस प्रदेशले ३० अंकमात्र पाएको छ ।
आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अंक दिएको हो । जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराए/नगराएको अवस्था, सवारीसाधन करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे/नगरेकोलगायत विषय छन् ।
वार्षिक बजेट विनियोज तथा खर्चको स्थिति, पुँजीगत बजेट र त्यसको खर्च, राजस्व सङ्कलनको अवस्था, स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, तोकिएको समयमा वार्षिक बजेट समीक्षा, प्रदेशको वायुको गुणस्तर, समुदायमा आधारित वन व्यवस्थापनलगायत सूचक तयार पारी मूल्याङ्कन गरिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया