काठमाण्डु – संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल)मा नयाँ डेपुटी फोर्स कमाण्डर तोकिएका छन् । डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी नेपाली सेनाका सहायक रथी मानबहादुर महराले पाएका छन् ।
शुक्रबार मध्यराति स्वदेश फर्कने क्रममा आक्रमणमा परेका उपरथी चोकबहादुर ढकाल उक्त जिम्मेवारीमा थिए । मिसनको जिम्मेवारी पूरा गरेर काठमाडौं फर्किने क्रममा मिसन मुख्यालय नाकुराबाट बेरुतको राफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेका ढकाल र उनको सुरक्षार्थ खटिएको टोलीलाई स्थानीय विद्रोही समूहले शुक्रबार राति आक्रमण गरेको थियाे । ढकाल आइतबार डिस्चार्ज भइसकेका छन् भने,उनी स्वदेश फर्किने तयारीमा छन् ।
लेबनानमा नेपालसहित ४८ देशका करिब ११ हजार शान्ति सैनिक कार्यरत छन् । इजरायल–लेबनान १२० किलोमिटर सीमा (नीलो रेखा)को अनुगमनमा राष्ट्रसंघको छातामा सुरक्षाफौज तैनाथ छन् । लेबनानमा सबैभन्दा बढी इन्डोनेसियाका सैनिक करिब ११ सय छन् भने,दोस्रोेमा भारतीय करिब ९ सय र तेस्रोमा नेपाली ८७६ कार्यरत छन् । विभिन्न राष्ट्रसंघीय शान्ति मिसनमा जम्मा ५९१४ नेपाली सैनिक कार्यरत छन् । मिसनमा अहिले सबैभन्दा धेरै नेपाली फौज छन् ।




प्रतिक्रिया