काठमाण्डु – भारतमा प्रहरीसँगको दोहोरो भिडन्तमा परी ३ माओवादी विद्रोही लडाकू महिलाको मृत्यु भएको छ ।
भारतको मध्य प्रदेशको बालाघाट जिल्लामा बुधवार प्रहरीसँग भएको मुठभेडमा परी ३ जना महिला माओवादी लडाकू मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु भएका विद्रोही लडाकूको शव प्रहरीले बरामद गरेको छ । भिडन्तमा धेरै माओवादी लडाकू घाइते भएका जनाइएको छ । भिडन्तपछि घटना आसपासको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।
भिडन्तपछि मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले पुलिसलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गृहमन्त्री अमित शाहले सन् २०२६ सम्म माओवादी आन्दोलन खतम गर्ने अभियान चलाएकोबारे ध्यानाकर्षण गराएका छन् ।
सरकारी तथ्यांकअनुसार सन् २०१८ सम्म मध्य प्रदेशको बालाघाट जिल्ला मात्रै माओवादी आन्दोलनबाट प्रभावित थियो । त्यसपछि मण्डला जिल्ला र सन् २०२१ मा डिन्डोरी जिल्लालाई पनि सरकारले माओवादी प्रभावित घोषणा गरेको थियो ।




प्रतिक्रिया