एफबिआईका नयाँ डाइरेक्टर काश पटेलले लिए गीता छोएर सपथ

एफबिआईका नयाँ डाइरेक्टर काश पटेलले लिए गीता छोएर सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)का नवनियुक्त कार्यकारी प्रमुख कश्यप ‘काश’ प्रमोद पटेलले सपथ लिएका छन्।

बिहीबार एफबीआई प्रमुख नियुक्त भएपछि काश पटेलले शुक्रबार वाशिङ्टन डिसीस्थित आइसेनहावर कार्यालयमा शपथ लिएका हुन्।

उनले गीता छोएर पद तथा गोपनीयताको शपथ लिएका थिए। उनी भारतीय मूलका अमेरिकी नागरिक हुन्। शपथ ग्रहण समारोहमा उनका परिवार, प्रेमीका र सहकर्मीहरू उपस्थित थिए। उनी ट्रम्पका कट्टर समर्थक रहेका छन् ।

शपथ ग्रहण गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेख्दै पटेललाई मजबुत र ताकतवर व्यक्ति भनेका छन्। ह्वाइट हाउसले पनि पटेलको नियुक्तिपछि एफबिआईमा अखण्डता र न्याय स्थापित भएको बताएको छ।

नवनियुक्त एफबिआई प्रमुख पटेलले आफूलाई साहसी योद्धा भनेकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्।

यसअघिका एफबिआई प्रमुख क्रिस्टोफर रे ले ट्रम्पको शपथअघि राजीनामा दिएका थिए। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि आफूलाई हटाउने तय भएपछि रे ले राजीनामा दिएका थिए।

कार्यभार सम्हालेपछि ट्रम्पले पटेललाई एफबिआई प्रमुखमा सिफारिस गरेका थिए। उनको नियुक्तिलाई लिएर बिहीबार सिनेटले मतदान गरेको थियो। जहाँ पटेलको पक्षमा ५१ सिनेटरले मतदान गरी अनुमोदन गरेका थिए। उनको विपक्षमा रिपब्लिकनका २ सहित ४९ सिनेटरले मतदान गरेका थिए।