प्रधानसेनापति खुला म्याराथन ४२.१९५ किलोमिटरमा सेनाका हुद्दा खड्का प्रथम

प्रधानसेनापति खुला म्याराथन ४२.१९५ किलोमिटरमा सेनाका हुद्दा खड्का प्रथम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथन–२०८१ को दशौं संस्करण शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुला महिला/पुरुष), १० किलोमिटर दौड (छात्र तथा छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत र सैनिक सहचारी), ५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश थियो ।

प्रतियोगिताको ४२.१९५ किलोमिटर खुला म्याराथनतर्फ नेपाली सेनाका हुद्दा खड्गबहादुर खड्काले निर्धारित दूरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरे । २१ किलोमिटर हाफ म्याराथन खुला पुरुषतर्फ नेपाली सेनाका प्युठ मुकेशबहादुर पालले निर्धारित दूरी १ घण्टा ०४ मिनेट ४१ सेकेन्डमा पूरा गरी प्रथम स्थान र २१ किलोमिटर हाफ म्याराथन खुला महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी १ घण्टा १७ मिनेट ०४ सेकेन्डमा पूरा गरी प्रथम भएका छन् ।

विभिन्न विधाहरूमा विजयी धावकलाई रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्व प्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देल, बलाधिकृत रथी, बलाध्यक्ष रथी तथा काठमाण्डु महानगरपालिका र एमएडब्ल्यू राइड प्रालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त रथी तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू, विभिन्न खेलका प्रशिक्षकहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।