काठमाण्डु-नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो ।
एआईजी केसीले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले मंगलबार उनको राजीनामा स्वीकृत गरेको थियो ।
प्रहरी अधिकारीहरूका अनुसार डीआईजी भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुसार नै केसीलाई राजीनामा दिन लगाइएको हो ।
सोहीअनुसार बढुवा समितिले भट्टराईलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो । केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् । एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् ।
यस घटनाले नेपाल प्रहरीभित्रको बढुवा प्रक्रियामा फेरि एक पटक राजनीतिक र आन्तरिक शक्ति सन्तुलनको बहस चुलिएको छ ।





प्रतिक्रिया