काठमाण्डु– नेपाली सेनाले आफूले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ। आइतबार पत्रकार सम्मेलन गरेर सेनाले भौतिक प्रगतीको जनाकारी दिएको हो ।
जसमा १ हजार ४ सय किलोमिटर भन्दा बढी सडकको पाईलट ट्र्याक खोली नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत २ सय किलोमिटर भन्दा बढी सडक निर्माण भइरहेको र काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना काम भइरहेको सेनाले जनाएको छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुलाई तोकिएकै मितिमा निर्माण कार्य सम्पन्न गर्न नेपाली सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको सेनाले बताएको छ ।
यस्तै, सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको सेनाको भनाइ छ ।
जसमध्ये बैङ्क तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रहेको सेनाको भनाइ छ ।
यद्यपि निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित हुने देखिएको सेनाको भनाइ छ ।
कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी भएको छ ।
यस्तै, पत्रकार सम्मेलनमार्फत महिला र पुरुष दुवै शान्ति सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रणी स्थानमा रहेको जानकारी दिइयो ।
सेनाका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ । यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा १ लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ ।
यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको सेनाले जनाएको छ ।
यस्तै, नेपाली सेनाले पछिल्लो ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ।




प्रतिक्रिया