काठमाण्डु- ताप्लेजुङमा अवस्थित पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयले तातिएको बहस र तनाव अहिले पनि साम्य भएको छैन ।
केबलकार निर्माण प्रक्रिया खारेजीको माग गर्दै विभिन्न पाँच समूहको विरोधले एक महिना यता पूर्वी नेपालमा तनाव कायमै छ । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा पक्ष–विपक्षमा जनमत बाँडिएको छ । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीचको झडपपछि सुरु भएको आन्दोलन अझै चर्कने देखिएको छ ।
सुरुमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासको चरणसम्म आइपुग्दा अहिले आईएमई समूह यस आयोजनामा जोडिएको छ । गत मंसिरमा केबलकार आयोजना शिलान्यास गरिएसँगै ‘मुकुम्लुङ’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको भन्दै आन्दोलन चर्किएको छ ।
पाथीभारा क्षेत्रमा केबलकार मार्ग निर्माण गर्ने योजना सार्वजनिक गरिएसँगै त्यहाँ विभिन्न समूहहरूले ‘नो केबलकार’ आन्दोलन चलाइरहेका छन् । आन्दोलनका क्रममा प्रहरीसँग पटकपटक झडप भएको छ । शुक्रबार पनि प्रहरी र आन्दोलनकारी पक्षबीच झडप भएको छ ।
आन्दोलनको सम्भावित असरलाई ध्यान दिँदै स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता कायम राखेको अधिकारीहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । शनिबार भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै निषेधाज्ञा जारी गरिएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार शान्ति सुरक्षालाई बिग्रँन नदिन अहिले सुरक्षा निकाय उच्च संयम र उच्च सतर्कताका साथ एकअर्कासँग समन्वय गरेर नागरिकको जीउधन र स्वतन्त्रताको रक्षा गर्ने गरी उपस्थिति भएको छ ।
के हो मुकुम्लुङ ?
लिम्बु भाषामा ‘मुकुम्लुङ’ भनिने पाथीभारा ताप्लेजुङमा रहेको एक पवित्र तीर्थस्थल हो । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिकस्थलमा पाथीभरा देवीको दर्शन गर्न श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ ।
त्यसबाहेक पदयात्रा अनि कञ्चनजंघा र लोत्सेजस्ता हिमालहरूको दृश्यावलोकन गर्न पनि मानिसहरूले त्यस क्षेत्रको भ्रमण गर्छन्।
पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका खगेन्द्र फेम्बू पाथीभारामा केबलकार परियोजना निर्माण गर्दा त्यसले मुन्धुम संस्कृतिमाथि अतिक्रमण गर्ने र व्यापारिक स्वार्थ मात्रै पूर्ति गर्ने भएकाले उक्त निर्णय रद्द गरिनुपर्ने बताउँछन् ।
उनले भने, ‘केबलकार बनाउँदा धार्मिक स्थल तहसनहस हुन्छ । विभिन्न प्रजातिका रुखहरू नष्ट गरिएकाले प्राकृतिक स्रोतसाधन र जैविक विविधतामा पनि क्षति पुगेको छ । रेड पान्डालगायतका जीवको वासस्थान पनि नष्ट गरिएको छ । त्यसबाहेक स्थानीय बासिन्दाको रोजीरोटी पनि खोसिनेछ ।’ उनले केबलकारको सट्टा सुकेटार–काफ्लेपाटी सडकको स्तरोन्नति लागि राज्यले जोड दिनुपर्ने बताए ।
केबलकार परियोजना निर्माणको पक्षमा पैरवी गरिरहेको पक्षले नो केबलकार आन्दोलनलाई कोशी प्रदेशमा जारी रहेको पहिचानको आन्दोलनसँग जोडेर हेरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले सरकारले अनुमति दिएर यो आयोजना अघि बढेकाले यसलाई रोक्न नहुने बताउँछन् ।
वार्ता निष्कर्षविहीन
‘नो केबलकार’ पक्ष र सरकारबीचको वार्ताले हालसम्म कुनै निष्कर्ष दिन सकेको छैन । केबलकार निर्माणको विरोधको आन्दोलन उग्र बन्दै जाँदा सरकारले माघ २० गते गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । त्यसको भोलिपल्ट ‘नो केबलकार’ समूहले पनि अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गर्यो । दुवै टोलीबीच भएको पटक पटकको वार्ता निष्कर्षमा पुगेको छैन ।
आन्दोलनरत पक्षका केही नेताले गृहमन्त्री रमेश लेखकसँग भेट पनि गरे । तर गृहमन्त्रीसँगको भेटले पनि आफ्ना मागहरूको सम्बोधन गर्न नसकेको भन्दै नो केबलकार पक्षधरले अझै पनि आफ्नो आन्दोलन जारी राखेको छ ।
सरकारले वार्ताका लागि आह्वान गरे पनि आन्दोलनकारीहरूले भने यो समितिसँग वार्ता नगर्ने अडान राखेका छन् । कर्मचारीस्तरमा गठन भएको यो वार्ता समितिले आफ्ना माग पूरा गर्न नसक्ने भएकोले अनि यो समितिसँग यसअघि भएको सहमति पनि कार्यान्वयन नभएकोले यो समितिसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको आन्दोलनरत पक्ष बताउँछन् ।
केबलकार परियोजना निर्माणको विरोध मात्र नभएर ताप्लेजुङमा केबलकार निर्माणको पक्षमा पनि नागरिकहरू सडकमा निस्किरहेका छन् ।
विकास समयको माग भएकाले त्यसैले संरक्षण र विकास सँगसँगै लैजानुपर्छ भन्ने सन्देश दिन भन्दै केही दिनअघि ताप्लेजुङमा एक सद्भाव र्यालीसमेत निकालिएको थियो । र्यालीमा उपस्थित स्थानीयवासीले केबलकार बने जिल्लाको विकासले फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।
राजनीति रंग
स्थानीय आस्थावानहरू ले केबलकार निर्माण जुनसुकै हालतमा रोक्ने बताइरहँदा सरकार मुक्कुमलुङ÷पाथीभरामा केबलकार बनाउन पक्षमै छ ।
यतिखेरको ‘द्वन्द्व’को भाष्य हिन्दूवादी र मुन्धुमी, विकासवादी र विकास विरोधी, व्यापारी–सरकार र पहिचान पक्षधरबीच जस्तो देखिएको छ । केबलकार निर्माण कार्य रोक्न जाने आन्दोलनकारीमाथि सशस्त्र प्रहरीको हस्तक्षेपले तनाव झन बढाएको छ । कोशी प्रदेश नामकरणका विरुद्ध ‘पहिचानवादी’हरूलाई उठाउन सकिन्छ कि भनेर प्रयास केही शक्तिहरूको पनि छ ।




प्रतिक्रिया