काठमाण्डु – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले भारतमा निधन भएकी प्रकृति लम्सालका परिवारलाई लक्षित गरी व्यक्त गरेको श्रद्धाञ्जलि शब्दप्रति नियमापत्ति जनाएका छन् ।
सांसद वाग्लेले लम्सालको परिवारलाई नै श्रद्धाञ्जलि दिएको विषयमा नियमापत्ति जनाउँदै सांसद खतिवडाले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, ‘प्रतिनिधि सभाको ६ फागुनको बैठकमा प्रकृति लम्सालको भारतमा भएको दुर्घटनाप्रति माननीय स्वर्णिम वाग्लेले सपरिवारलाई श्रद्धाञ्जलि भनेर संसद्मा रेकर्ड गराउनुभएको छ । यो शब्द संसद्को रेकर्डबाट हटाइयोस् ।’
खतिवडाले माग गरेलगत्तै सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै सचिवालयलाई यसबारे बुझ्न र यदि त्यस्तो भएको छ भने सच्याउन निर्देशन दिएका छन् ।
फागुन ६ गतेको संसद्को विशेष समयमा सांसद वाग्लेले ओडिशास्थित केआईआईटीको छात्रावासमा मृत फेला परेकी लम्सालको परिवारलाई नै श्रद्धाञ्जलि भनेका थिए ।
वाग्ले भनेका थिए, ‘हिजो ओडिशाको कलिङ्गा इन्स्टिच्युट फर इन्ड्रस्टियल टेक्नोलोजी (केआईआईटी) मा असाध्यै दुःखद घटना भयो । नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ । परिवारजनप्रति म र हाम्रो पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जलि पनि व्यक्त गरेका छौं ।’
रास्वपाले ‘जान्नेलाई छान्ने’ भन्दै वाग्लेलाई सांसद बनाएको भए पनि उनले श्रद्धाञ्जलि शब्दको गलत प्रयोग गरेर आलोचना खेपिरहेका छन् ।




प्रतिक्रिया