माओवादीलाई पहिलो गाँसमै ढुंगा ! वरिष्ठ उपाध्यक्ष नारायणकाजी रिसाएपछि खटपट

माओवादीलाई पहिलो गाँसमै ढुंगा ! वरिष्ठ उपाध्यक्ष नारायणकाजी रिसाएपछि खटपट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटन सभामा देखिएको विवाद पहिलो गाँसमै ढुंगा भएको छ ।

उद्घाटन कार्यक्रममा पर्याप्त बोल्न दिएको भन्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएका छन् ।

मञ्चमा बोल्ने क्रममा सञ्चालक नजिकै आएर उभिएपछि झोक्किएर बोल्दै नबोली श्रेष्ठ बाहिरिएका छन् । नजिकै उभिएका सञ्चालकतर्फ हेर्दै श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभा हो ? हो ? हो भने जान्छु ।’ सञ्चालकले ‘होइन’ भनेर जवाफ दिन्छन् तर श्रेष्ठले रिसाउँदै भने, ‘अनि के त यहाँ टुक्क आएर बसेको ?’

उनले रिसाएपछि सञ्चालक मञ्चतिर जान्छन् । फेरि श्रेष्ठ पछाडि फर्केर सोध्छन्, ‘म बिदा हुँ ?’ उनी फेरि बोल्न थाल्छन्, ‘चाप… समयको चाप एकदम धेरै छ । म थोरै कुरा भन्न चाहन्थें शायद । सञ्चालक । कार्यक्रमलाई धेरै चाप भयो होला म बिदा हुन्छु । लाल सलाम ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ रिसाएर गएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सम्झाउने प्रयास गरेका थिए । कार्यक्रममै प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो । उद्घोषक कमरेड … । मेरो त ध्यान जनतातिर थियो । म तपाईंहरूतिर हेरिराखेको थिएँ । वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा तपाईंहरूले बडो ध्यान दिएको मैले महसूस गरेको थिएँ । अग्निजी (सञ्चालक) यहाँ आउनुभएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो । यसमा अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भए म क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन, समीक्षा त गरौंला तर फेरि यो ठूलो कुरा होइन । हामी समीक्षा गर्छौं र कहिँ त्रुटि रहेछ भने रियलाइज चाहिँ गर्छौं ।’

माओवादीले सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सुरु गरेको छ । तर माओवादीको अभियानको सुरुआतमै विवाद भएको छ ।