काठमाण्डु- भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग प्रधानमन्त्री केपी ओलीले फोनवार्ता गरेका छन् ।
एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन् ।
कुराकानीमा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिएका छन् ।
सुनिलले भने, ‘ हाम्रो त घटना भइसक्यो । आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस् ।’ जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताउँदै कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएको बताए ।
प्रधानमन्त्री ओलीले समग्र विषयमा परिवारसँग थप जानकारी लिँदै न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।




प्रतिक्रिया