नेपाली सेनाले स्थापना दिवस मनाउँदै

नेपाली सेनाले स्थापना दिवस मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनको भनाइ छ ।

सेना दिवस समारोहमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका ६ जना पूर्वसेनापतिहरू पनि सहभागी हुँदै छन् । उनीहरु नेपाली सेनाका मानार्थ महारथी समेत हुन् ।