राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गयो : महासचिव पोखरेल

राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गयो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलभित्र योगदान कम र अवसरको खोजी बढ्दै गएको बताएका छन् ।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाण्डुमा भएको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले यसले पार्टीमा अवसरवाद जन्मिएको बताए ।

‘यसले असन्तुष्टि बढ्छ, असन्तुष्टिले अराजकता बढाउँछ, अवसरवाद र अराजकता राजनीतिक आन्दोलनका बाधक हुन्, यी २ कुरालाई परास्त नगरी हामी अघि बढ्न सक्दैनौं,’ उनले भने ।

अवसरवादलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने उनले बताए । ‘अवसरवादलाई परास्त गर्न वैचारिक र राजनीतिक आन्दोलनलाई अघि बढाउनुपर्दछ,’ उनले भने ।

कुनै पनि संगठन एकताबद्ध र अनुशासित भएन भने उसले उपलब्धि प्राप्त गर्न नसक्ने उनले बताए । कुनै पनि उद्देश्यको लागि सांगठनिक शक्ति आवश्यक पर्ने पोखरेलले बताए । ‘विचारले मात्रै हुँदैन, विचारलाई संगठनमा बदल्नुपर्छ, संगठनलाई उद्देश्यमा बदल्नुपर्छ,’ उनले भने ।

नेपालमा काम जति नपढेका मानिसलाई लगाउने र पढेका मानिसहरू ठालु पल्टिने संस्कार नै विकास भएको पोखरेलले बताए । ‘काम जति नपढेका मान्छेलाई लगाउने, पढेका जति ठालु पल्टिने, अन्त कतै यस्तो हुन्छ ? के कारणले हाम्रो देश बनेन भन्ने कुरा यसैले पुष्टि गर्छ,’ उनले भने ।

कुनै पनि देश छिटो विकास हुनको लागि स्वास्थ्य र शिक्षामा विकास गर्नुपर्ने उनको धारणा छ । नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्र निकै कमजोर रहेको उनले बताए । त्यसैले नेपालले स्वास्थ्य र शिक्षामा जोड दिनुपर्ने पोखरेलले बताए ।

प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी देशमा उत्पादन बढाउनुपर्ने पोखरेलले बताए । नेपालको भूगोल सुहाउँदो प्रविधि र यन्त्र उपकरण उत्पादन र प्रयोगले देशले तीव्र विकास हासिल गर्ने पोखरेलको भनाइ छ । सरकार फेरबदल भइरहने कुराले जुन रूपमा नेपाल अघि बढ्नुपर्ने हो, त्यो हिसाबले अघि बढ्न नसकेको पोखरेलले बताए ।

पुँजी निर्माण विना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए । नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ ।

राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर भएको उनले बताए । ‘कर तिर्नेभन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन,’ उनले भने ।

विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको पोखरेलले बताए । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको पोखरेलको धारणा छ ।

देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको कारण समस्यामा पर्न लागेकाले अहिले देशका ठूला २ राजनीतिक दल मिलेर सरकार बनाएको उनले बताए ।

नेपालमा साना पार्टीले ठूला पार्टीलाई घुक्र्याएर शासन गर्ने गलत संस्कार सुरु भएको उनले बताए । म अरूको सहयोगमा प्रधानमन्त्री बनेको हुँ भन्ने कुरालाई समेत बिर्सिएर ठूला दलमाथि माओवादीले शासन गर्न सुरु गरेपछि २ दल मिलेका उनले स्पष्ट पारे । ‘हामी मिल्नु भनेको शासन गर्नको लागि मात्र होइन, अहिले संकटग्रस्त बनेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र जनतामा बढ्दै गएको निशालाई चिर्नको लागि हामी मिलेका हौं,’ उनले भने ।

सरकारले ल्याएको अहिलेको अध्यादेश औचित्यको आधारमा ल्याएको अध्यादेश भएको उनले स्पष्ट पारे । सरकार अध्यादेश ल्याउन मात्र होइन, नयाँ कानून बनाउन पनि केन्द्रित रहेको पोखरेलले बताए ।