माओवादीको तराई मधेस जागरण अभियान आज सुनसरीमा

माओवादीको तराई मधेस जागरण अभियान आज सुनसरीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत बिहीबार सुनसरीमा कार्यक्रम हुँदैछ । यसका लागि अध्यक्ष पुष्पकमल दाहालसहितको केन्द्रीय टोली सुनसरी पुगेको छ।

अध्यक्ष दाहालको सुनसरीको बर्जु–शुक्रबारे बजारमा सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने छ । यस्तै बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।

यसैगरी दिउँसो देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको छ । हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम छ ।

भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बस्ने तालिका छ ।

अभियान अन्तर्गत फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ ।

नवलपुरमा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुनेछ । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।