घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छाड्छौं : मन्त्री यादव

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छाड्छौं : मन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेका नेपाल खानेपानी संस्थानका देशभरका शाखालाई नाफामै ल्याएर छोडिने बताएका छन् ।

संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

नेपाल खानेपानी संस्थानको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौं नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्त्वलाई उच्च मूल्यांकन गरे । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘संस्थान कसका कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोेष कसलाई दिने ?’

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनु हुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौं ।’

नाफामा रहेका अन्य शाखाहरूबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ । संस्थानमा महाप्रबन्धकको १० महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले निकै अप्ठ्यारो परिस्थितिका बाबजुद आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए । उनले कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिँदै भने, ‘संस्थानका कर्मचारीहरूको हकहितका लागि नयाँ विनियमावली आउँदैछ, आएको दिन तपाईंहरू दिपावली मनाउनुहुनेछ ।’

हाल २२ वटा शाखा कार्यालयमार्फत १५ लाख जनसंख्यालाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गरिरहेको जानकारी दिँदै मन्त्री यादवले सेवा थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

सरकारको नीति अनुरूप ‘एक घरः एक धारा’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी ७ करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनले बताए ।

काठमाण्डु उपत्यका बाहिरका शहरी क्षेत्रमा सहज, सुरक्षित र पर्याप्त खानेपानी वितरणको जिम्मेवारी बोकेको संस्थानले अब स्थानीय तहहरूसँग अझ बलियो सहकार्य गर्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, ‘संस्थानलाई अझ सबल बनाउने मेरो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहनेछ ।’

संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवले बताए । उनले दीगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

उनले झुम्सा र कोलपाटन खानेपानीको समस्या चाँडै समाधान हुने विश्वास दिलाए । उनले भने, ‘झम्सा र कोलपाटन खानेपानीको समस्या बुझ्नका लागि म आफैं त्यहाँ पुगेको छु । ढुक्क हुनुस्, त्यहाँको समस्या चाँडै समाधान हुन्छ ।’

समारोहको सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री यादवले सम्पूर्ण संस्थान परिवारलाई अझ सबल, सक्षम र नागरिकमुखी सेवाप्रदायक संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव ई. प्रमिलादेव शाक्य बज्राचार्यले संस्थानले अबका दिनमा आफूलाई नाफा मुखी बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘संस्थानलाई आवश्यक सहयोग गर्न मन्त्रालय सदैव तयार छ । अबका दिनमा संस्थानले आफ्नो क्षमताको विकास गर्दै आफूलाई नमूना संस्थानका रूपमा प्रस्तुत गर्नेछ, मैले विश्वास लिएको छु ।’

संस्थानको ३६औं स्थापना दिवसको अवसरमा अध्यक्ष गुणाकरण भुसालले आगामी दिनहरूमा नेपाल खानेपानी संस्थानलाई थप विकसित र प्रभावकारी बनाई निरन्तर सेवा प्रदायिक एवं नाफामुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्थानका महाप्रबन्धक अर्जनबाबु ढकाल, निमित्त महाप्रबन्धक त्रिदेव श्रेष्ठ लगायतका कर्मचारीको सहभागिता थियो ।