काठमाण्डु-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरस्थित रिंकुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेका थिए । त्यसको केही दिनमै रिंकु मृत भेटिएकी थिइन् । जनतासँग माओवादी तराई मधेश जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डले शनिबार रिंकुको घरमै पुगेर न्यायको लडाइँमा साथ दिने प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले रिंकुको न्यायका लागि संसदमा आवाज उठाएको जानकारी दिँदै जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताए ।
अध्यक्ष प्रचण्डले रिंकुको न्यायका लागि मुसहर समुदायले गरिरहेको संघर्षप्रति पनि ऐक्यबद्धता जनाएका थिए । रिंकुकै घरमा संघर्ष समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तराई मधेशका विभेद, अपमान र अत्याचारविरुद्ध आवाज उठाउन नै पार्टीले तराई मधेश जागरण अभियान सञ्चालन गरेको र यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
रिंकु मृत्यु प्रकरणमा प्रहरीले अहिले कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्रमा अनुसन्धान गरिरहेको छ । गत २७ माघको राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० माघमा पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । त्यसपछि ३० माघको साँझ पीडित किशोरी आफ्नै घरमा मृत फेला परेकी थिइन् ।




प्रतिक्रिया