प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ : मुख्यमन्त्री आचार्य

प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ : मुख्यमन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आमसञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका देउखुरीमा शनिबार सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै पत्रकारिता विकासको लागि काम गर्दै आएको बताए ।

पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानून निर्माण गर्दा सरोकारवालाहरूसँग छलफल गरेरै अघि बढ्दै आएको उनले स्पष्ट पारे । ‘अहिले रोकिएको विषयप्रति म जानकार छु, पत्रकारिता क्षेत्रका सरोकारवालाहरूसँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौं,’ उनले भने ।

उनले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक कानूनी संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारले राम्रा कामको थालनी गरेको बताउँदै उनले पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर प्रदेश सरकारले उदाहरणीय काम अघि बढाएको बताए । ‘पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौं,’ उनले भने ।

आचार्यले प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्ति गम्भीर भएको बताए । ‘सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ, अराजकता फैलाउने छुट कसैलाई छैन,’ उनले भने ।

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता थियो । चौतारीका इञ्चार्ज तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय तथा प्रदेश नेतृत्वका अन्य पदाधिकारीहरूको विशेष उपस्थिति थियो ।