दिल्लीको आश्रय गृहबाट ८ नेपाली युवती बेपत्ता प्रकरण : प्रवासी नेपालीले घेरे राजदूताबास

दिल्लीको आश्रय गृहबाट ८ नेपाली युवती बेपत्ता प्रकरण : प्रवासी नेपालीले घेरे राजदूताबास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीको वेश्यालय जीबी रोडबाट उद्दार गरी राखिएका ८ नेपाली युवतीहरु आश्रयगृहबाट बेपत्ता भएको विरोधमा प्रवासी नेपालीहरुले नेपाली राजदूताबासबाहिर विरोध प्रदर्शन गरेका छन्।

अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिको अगुवाईमा दिल्लीस्थित दूतावासबाहिर नारावाजीसहित प्रदर्शन गरिएको हो। मण्डी मेट्रो स्टेशनबाट शुरु भएको र्याली राजदूताबासनजिकै पुग्नै लाग्दा प्रदर्शनकारीहरुले नारा चर्काएका थिए। साथै दिल्ली पुलिसले प्रदर्शनकारीहरुलाई कडा निगरानी र सुरक्षा घेरामा समेत राखेको थियो।

प्रदर्शनकारीहरुले ‘प्रवासी नेपालीहरुको प्रश्न? लापरबाही किन भयो एक वर्ष?, राजदूताबास, चेलीहरुलाई नसोच बोझ, संस्कार आश्रमबाट बेपत्ता पारिएकालाई खोज, भाग्यवश चेलीहरु जीबी रोडबाट बँचे, घर जान्छु भनिरहेका उनीहरु कहाँ पसे?, अरु देशका दूताबासको सुनिँदैन यस्तो केस, हाम्रो दूताबास काम लागेन दिल्लीमा नभएकै बेस’ लगायतका नारा लगाएका थिए।

दूताबास पुगेपछि दिल्ली राज्य इन्चार्ज वीरेन्द्र सिंहको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधि मण्डलले दूताबासका प्रतिनिधिलाई १३ सूत्रीय माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा बेपत्ता नेपाली महिलाहरुलाई तुरुन्त खोजी गरिनुपर्ने, सीमामा फितलो सुरक्षा जाँचका कारण नेपाली महिला बेचबिखनमा पर्ने गरेकाले सीमामा सुरक्षा जाँचको व्यवस्थापनमा कडाई गरिनुपर्ने, दूताबास जनपक्षीय हितका विषयमा जिम्मेवार बन्नुपर्ने, नेपाल–भारत सीमामा हुने समस्याहरुको स्थायी समाधानका लागि माथिल्लोस्तरबाटै पहल हुनुपर्ने, भारतमा नेपालीहरुले नागरिकताको आधारमा काम गर्ने वातावरण मिलाउनु पर्ने लगायतका १३ बुँदे माग समेटिएका छन्।

अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतको दिल्ली समिति संयोजक वीरेन्द्र सिंहले दूताबासको गैरजिम्मेवारीविरुद्ध विरोध प्रदर्शन गरी दूताबासका अधिकारीलाई ज्ञापन बुझाएको बताएका छन्। दूताबासले घटनाबारे दुःख प्रकट गरेको र नेपाली महिलाहरुले खोज्नका लागि भारतीय प्रशासनलाई दवाव दिएको जानकारी दिँदै नेपालीहरु महिलाहरु भेटिने आश्वासन दिएको सिंहले बताए। दूताबासले यस मुद्दालाई गम्भीरतापूर्वक नलिए आफुहरु सयौंको संख्यामा आएर दूताबास घेराउ गर्ने उनले चेतावनी दिएका छन्।