गैँडा गन्न यूएसएआईडीको भर, परियोजना बन्द भएपछि गणना नै अन्योलमा

गैँडा गन्न यूएसएआईडीको भर, परियोजना बन्द भएपछि गणना नै अन्योलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ। दाताहरूको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन्।

विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआईडीको जल जङ्गल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो। परियोजनाले सूचना जारी गरी सामग्रीहरू खरिद प्रक्रिया समेत अघि बढाइसकेको थियो।

निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरू, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले बेहोर्ने भएको थियो। “परियोजनाले ५० लाख बराबरको सामग्री दिने तयारी थियो। गणना सम्पन्न गर्न १ करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ”, उनले भने।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलताले अन्तिम तयारीका बेला गणना प्रभावित बनेको बताए। यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ।

आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ। दुवै कार्य एकै पटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्को वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ। रासस