काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रखर वक्ताका रूपमा चिनिएका नेता मीन विश्वकर्माले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्।
पूर्वसभापति शेरबहादुर देउवानिकट मानिने विश्वकर्मा केही साताअघि मात्रै सभापतिका उम्मेदवार गगनकुमार थापा नेतृत्वको समूहमा आएका थिए। तर, उनले १५औँ महाधिवेशनमा भने कुनै पदमा उम्मेदवारी दिएनन्।
विश्वकर्माले उम्मेदवारी नदिनुको पछाडि थापासँग भएको समझदारी मुख्य कारण रहेको उनी निकट नेताहरूको दाबी छ। उनीहरूले थापाले मनोनीत कोटाबाट विश्वकर्मालाई सहमहामन्त्री बनाउने समझदारीपछि उम्मेदवारी नदिएको बताएका छन्।
तर, विश्वकर्माले भने आफूले सहमहामन्त्री बन्ने विषयमा कुनै सहमति भएको पुष्टि गरेका छैनन्। उनले सभापतिका उम्मेदवार थापासँग छलफल गरेरै उम्मेदवारी नदिएको बताए।
‘नेतृत्व र हामीबीचमा सहमतिमै मैले उम्मेदवारी नदिएको हो। अरू विषयमा छलफल हुन पाएको छैन,’ विश्वकर्माले भने।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भइसकेको अवस्थामा विश्वकर्मा भने प्रतिस्पर्धाबाट बाहिर छन्। उनी लामो समय देउवा निकट रहेर कांग्रेसको राजनीतिमा सक्रिय थिए।
१५औँ महाधिवेशनमा थापा सभापति पदमा उम्मेदवार छन्। थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि मनोनीत हुने पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषय भने त्यसपछि मात्रै स्पष्ट हुनेछ।



प्रतिक्रिया