काठमाण्डु– नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि देशव्यापी रुपमा नेता खटाएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट प्रदेशगत रुपमा ७ नेतालाई खटाएको हो ।
पार्टी शीर्ष तहबाट स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजकको जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ भने पार्टी केन्द्रीय कार्यालयबाट संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई दिइएको छ ।
कांग्रेसले कोशीमा भीष्म आङ्देम्बे, मधेसमा महेन्द्र यादव, बागमतीमा महालक्ष्मी उपाध्याय ‘डिना’ गण्डकीमा जीवन परियार, लुम्बिनीमा चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाएको छ ।
महामन्त्री शर्माले स्ववियु चुनावलाई मध्यनजर गर्दै पार्टीबाट आवश्यक सहजीकरण गर्नका लागि ७ प्रदेश र ७७ जिल्लामा सर्कुलर गरेका छन् । प्रदेशलाई ७ र जिल्लालाई ११ बुँदे सर्कुलर गरिएको छ । प्रदेश र जिल्ला पार्टी संरचनाले गर्नुपर्ने कार्यहरु उल्लेख गरी सर्कुलर पठाइएको छ ।
सर्कुलरमा नेविसंघलाई जिताउन पार्टीले गर्नुपर्ने आन्तरिक कार्य, भ्रातृ संस्था परिचालन, दुई दलीय संयन्त्रको बैठक, हरेक क्याम्पसमा लागि टीम निर्माण, अनुगमन, फरक फरक जिम्मेवारी लगायतका विषय समेटिएको छ ।
५ चैतका लागि स्ववियु निर्वाचनको मिति तोकिएको छ ।




प्रतिक्रिया