काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छाडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक–पटक स्पष्टीकरण सोध्नु शोभनीय कार्य नभएको बताए ।
‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ,’ बस्नेतले भने । सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटक–पटक स्पष्टीकरण सोध्ने गरेको उनले बताए ।
सरकारले दुईतिहाइको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।
नेपाली कांग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको उनले बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तनका एजेण्डालाई सीमित गर्न लागिपरेको उनले बताए ।
पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखापरेको बताए । उनले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेण्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मूल मर्मअनुसार काम हुन सकेको छैन ।’
सरकार आफैंले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको उनले बताए । संसद् नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानूनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको बताए ।
अर्को प्रसङ्गमा बोल्दै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताए । अभियानमा जनताको व्यापक सहभागिता रहेको बताए ।




प्रतिक्रिया