काठमाण्डु- विराट गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।
विराटनगरको सहिद रंगशालामा हुने रात्रिकालीन खेल सोमबार साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।
‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको विराट गोल्डकप फुटबल ट्रस्टले जनाएको छ ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र प्रतियोगिता भर सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने छ ।




प्रतिक्रिया