काठमाण्डु – सशस्त्र प्रहरीले करीब ३४ ग्राम ब्राउन सुगरसहित काठमाण्डु महानगरपालिका–१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट ४ जनालाई नियन्त्रणमा लिएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय, निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षिय र काठमाण्डु महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय गरी ४ पुरुष छन् ।
एपीएफ इन्टेलीजेन्स व्युरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरूले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनीहरूले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा१५च १७७३ नम्बरको होण्डाको क्रेटा गाडी समेत नियन्त्रणमा लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ किलो गाँजासहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
थाई एयरवेजको उडान नम्बर टीजी ३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसले पुनः जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।




प्रतिक्रिया