काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधेको भन्दै विपक्षी दलका सांसदहरूले विरोध गरेका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै माओवादी, राप्रपा र रास्वपाका सांसदहरूले विरोध जनाएका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हिरात पाण्डेले कुलमानलाई हटाउन खोजेको प्रति आपत्ति जनाएका हुन्।
‘कुलमान घिसिङलाई निरन्तर सरकारले स्पष्टीकरण सोध्ने कुरा सँगै मिडियाहरूमा सुनिरहेका छौँ उहाँको मूल्याङ्कनमा शून्य आएको सुनिरहेका छौँ,’ उनले भने, ‘एउटा राम्रो काम गरिरहेको छ जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ। त्यसलाई अघि लैजानुपर्ने ठाउँमा शून्य अंक दिएको सुनिरहेका छौँ यो कुरा के हो ?’
यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले कुलमान घिसिङमाथि सरकारले कारबाही गर्न लागेको भन्दै आपत्ति जनाए।’ कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलियो भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ’ । उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाही गर्न लागेकोप्रति आपत्ति जनाए।
उनले कुलमान जस्तो मुलुकलाई फाइदा पुर्याउने व्यक्ति कारबाही गर्ने सरकारको रवैया ठीक नहुने बताए। ‘खबरदार एउटा कुलामान लखेट्यौ भने हामी हजारौ कुलमान लिएर आउँछौ,’ झाले भने।




प्रतिक्रिया