काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा भरोसा गर्ने पार्टीहरू देश र लोकतन्त्रप्रति चुनौती आउँदा एकठाउँमा उभिनु स्वाभाविक भएको बताएका छन् ।
नेकपा एमाले बागलुङद्वारा आयोजित वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस र एमाले मिल्नुको उद्देश्य राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि भएको बताए ।
‘चुनौतीलाई सामना गर्न लोकतन्त्रमा विश्वास गर्ने दलहरू मिल्नु स्वाभाविक थियो, हामी अहिले मिलेका छौं,’ उनले भने, ‘यो मुलुक राजतन्त्रको अकर्मण्यताको कारणले पछाडि पर्यो, उसको स्वार्थी व्यवहारको कारण आज हाम्रो मुलुक पछाडि पर्यो ।’
अहिले एउटा स्वार्थी जमात फेरि राजा आऊ देश बचाऊ भन्दै नारा लगाएर हिँडेको पोखरेलले बताए । जुन राजाले यो मुलुकलाई यो हालतमा पुर्यायो, फेरि राजा आऊ देश बचाउ भन्ने मूर्खहरू भएका उनको टिप्पणी छ ।
नेपालमा हिंसात्मक राजनीतिलाई अगाडि बढाउने कुरामा राजतन्त्रको पनि हात रहेको उनले बताए । माओवादीलाई राजतन्त्रले उक्साएर राजनीतिक दलहरूविरुद्ध प्रयोग गरिएको उनले प्रष्ट पारे । नेपाली राजनीतिलाई हिंसामा होम्ने र जातजातिका नाममा अस्थिरता मच्चाउने काम राजतन्त्रको आडमा माओवादीले गरेको उनको भनाइ छ ।
नेपालमा नीतिका आधारमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनले बताए । देशलाई अब २ ध्रुवमा विभाजित गर्नुपर्ने र त्यसको लागि बलिया २ राजनीतिक दल आवश्यक रहेको उनको धारणा छ ।
देश बनाउने हो भने आँट र सामथ्र्य भएको नेता आवश्यक पर्ने उनले बताए । त्यो आँट र सामथ्र्य नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको पोखरेलले दाबी गरेका छन् ।




प्रतिक्रिया