अमेरिका र चीनबीच युुद्ध भए…

अमेरिका र चीनबीच युुद्ध भए…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ‘ट्यारिफ’को बदला लिएसँगै चीनले पनि आफू अमेरिकासँग जस्तोसुकै युद्धका निम्ति तयार रहेको बताएको छ ।

ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप शुल्क लगाएपछि विश्वका दुई सबभन्दा ठूला अर्थतन्त्र व्यापार युद्धको सँघारमा पुगेका छन् । ट्रम्पको कदमको बदलामा चीनले तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १०–१५ प्रतिशत आयातशुल्क लगाइदिएको छ ।

‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ,’ चिनियाँ सरकारले गरेको टिप्पणीलाई वाशिङ्टनस्थित चिनियाँ दूतावासले ’एक्स’मा रिपोस्ट गरेको छ ।

ट्रम्पले कार्यभार सम्हाले यताको यो सबभन्दा तीखो चिनियाँ प्रतिक्रिया हो । राष्ट्रिय जनकंग्रेसको वार्षिक सम्मेलनका निम्ति चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा यो टिप्पणी गरिएको छ ।

चिनियाँ प्रधानमन्त्री लि चियाङले यो वर्ष फेरि उसको चीनको रक्षा खर्च ७.२ प्रतिशतले बढाइने घोषणा गरेका छन् । उनले विश्वभरि एक शताब्दीयता नदेखिएका परिवर्तनहरू द्रुत गतिमा भइरहेको चेतावनी पनि दिएका छन् । यो वृद्धि गत वर्ष नै घोषणा गरिएको थियो र अपेक्षाकृत नै छ ।

चिनियाँ नेताहरू व्यापार युद्धको जोखिमका माझ समेत आफूहरू देशको अर्थतन्त्र विस्तार गर्न सकिनेमा विश्वस्त रहेको सन्देश जनतालाई दिन चाहन्छन् ।

अमेरिकाको तुलनामा आफ्नो देश एक स्थिर र शान्त मुलुक भएको छवि प्रस्तुत गर्न चीन लालायित रहँदै आएको छ । अमेरिका मध्यपूर्व र युक्रेनमा फसेको उसले बताउने गर्छ ।

क्यानडा र मेक्सिकोजस्ता साझेदार मुलुकविरुद्ध समेत आयातशुल्क थोपर्ने ट्रम्पको कदमबाट बेइजिङ फाइदा लिन चाहन्छ र धेरै चर्का कुरा गरेर सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन ।

बेइजिङमा प्रधानमन्त्रीको भाषणमा चीन थप खुला हुने र थप विदेशी लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो । चीनले विगतमा पनि आफू युद्ध गर्न तयार भएको बताएको थियो ।

गत अक्टोबरमा राष्ट्रपति सी जिन्पिङले सेनालाई युद्धका निम्ति तयारी सुदृढ पार्न आह्वान गरेका थिए । त्यस बेला चीनले स्वशासित टापु ताइवान वरपर सैन्य अभ्यास गरेको थियो ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासले उसको विदेश मन्त्रालयले अघिल्लो दिन पोस्ट गरेको विषयलाई उद्धृत गरेको थियो । त्यसमा अमेरिकाले ‘फेन्टनिल’ लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेको पनि उल्लेख थियो ।

‘फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना हो’, विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए ।

अमेरिका र चीनबीच प्रायशः विवादपूर्ण सम्बन्ध रहँदै आएको छ । ‘एक्स’मा राखिएको यो पोस्टलाई निकै धेरै सेयर गरिएको छ । ट्रम्पका उच्च अधिकारीहरूमाझ रहेका चीनका कट्टर विरोधीहरूले यसलाई बेइजिङ अमेरिकाका लागि सबभन्दा ठूलो विदेशनीति एवं आर्थिक ‘खतरा’ हो भन्ने थप प्रमाणका रूपमा पेस गर्ने छन् ।

बेइजिङस्थित अधिकारीहरूले ट्रम्पले उनको शपथग्रहण समारोहमा राष्ट्रपति सीलाई निम्त्याएपछि नयाँ प्रशासनअन्तर्गत चीन–अमेरिका सम्बन्ध अलि न्यानो ढङ्गले अघि बढ्ने आश राखेका थिए ।

ट्रम्प स्वयंले पनि ह्वाइट हाउस प्रवेश गर्नु केही दिनअघि दुई नेताबीच ‘राम्रो फोन संवाद’ भएको बताएका थिए । गत महिना दुई नेताबीच अर्को फोन संवाद हुने भनिएको थियो । तर त्यो भएको छैन ।

चीनभित्र उपभोगमा आएका कमी, घरजग्गा क्षेत्रको सङ्कट अनि बेरोजगारीजस्ता समस्यासँग राष्ट्रपति सी जुझिरहेका छन् । आफ्नो अर्थतन्त्र सुधार्न चीनले अर्बौँ डलर लगानी गर्ने वाचा गरेको छ ।

चिनियाँ सेनाको बजेट करिब २४५ अर्ब डलरको छ जुन विश्वको दोस्रो धेरै हो ।

तर अमेरिकाको तुलनामा यो अझै निकै कम हो । बेइजिङले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १.६ प्रतिशत मात्र सेनामा खर्च गर्छ । अमेरिका वा रुससँग तुलना गर्दा त्यो अनुपात निकै कम हो ।

तर चीनले उसको रक्षा खर्चलाई अलि कम गरेर प्रस्तुत गर्ने गरेको कतिपय विश्लेषकहरू ठान्छन् ।