अस्ट्रेलियामा भीषण समुद्री आँधी, हजारौँ घर अन्धकारमा

अस्ट्रेलियामा भीषण समुद्री आँधी, हजारौँ घर अन्धकारमा

नेपालीहरूको उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अष्ट्रलियामा समुद्री आँधी आएको छ ।

अल्फ्रेड नाम दिइएको आँधीका कारण तीन लाखभन्दा धेरै घरधुरी बिद्युत्विहीन भएका छन् ।

आँधी मत्थर भएर अहिले वर्षामा परिणत भएको छ । तर आँधी जमिनमा आइपुग्न बाँकी रहेका कारण स्थानीय प्रशासनले यसको खतरा अझै नटरेको बताएका छन् ।

आँधी जमिनमा बज्रनुअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढालेका थिए । होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन् । प्रहरीले एक जना ६१ वर्षका पुरुषको शब बाढीमा भेटिएको बताएको छ । ती व्यक्ति बाढीमा कार बगेर हराइरहेका पुरुष भएको अनुमान गरिएका छन् ।

उद्धारका लागि गइरहेका सैनिकहरू सवार एउटा ट्रक चिप्लिएर पल्टिएको र अर्को ट्रक त्यही पल्टिएको ट्रकमा गएर ठोक्किँदा १३ जना सैनिक घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पुर्‍याउने पूर्वानुमान गरिएका छन् । शनिबारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आकलन गरिएको छ ।

आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ ।

क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन् । दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन् ।

केही क्षेत्रका बासिन्दाहरू कैयौँ दिनसम्म बिजुलीबिनै बस्नुपर्ने अवस्था देखिएपछि आपत्कालीन सेवाले ऊर्जा कम्पनीहरूसँग समाधानका लागि काम गरिरहेको जनाएको छ ।

ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा २,८७,००० उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ । अर्को कम्पनी इसेन्सिअल इनर्जीले न्यू साउथ वेल्सका ४२००० घरहरूमा बिजुली बन्द भएको बताएको छ ।

दक्षिणी क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्समा खतरा अझै नटरेको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले गोल्ड कोस्ट भनिने तटीय क्षेत्रमा सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन् ।
केही दिनयता खराब मौसमी अवस्था सामना गरिरहेको उक्त क्षेत्रमा अझै पनि अवस्था चरम रहेको बताइएको छ । उक्त क्षेत्रमा मुसलधारे वर्षा र तीव्र गतिको हुरी चलिरहेको छ ।

बिजुलीका प्रसारण लाइनहरू ढलेका छन् र सयौँ रूखहरू बगैँचा, पार्क र मुख्य सडकहरूमा ढलेका छन् । उक्त क्षेत्रमा ठूलो मात्रामा भग्नावशेषहरू देखिएका छन् ।