बेरुत – सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् ।
तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ । सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।
सुन्नी र अलावीबीच प्रतिशोधात्मक हत्याहरू
असदको अल्पसङ्ख्यक अलावी सम्प्रदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्व सरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।
अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।
उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।




प्रतिक्रिया