काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रणजीत रेले नेपालमा राजसंस्थाको पुनर्बहालीको माग गर्दै भएका प्रदर्शनमा मानिसहरूको चाँच्किै ठूलो समर्थन रहेकोमा शंका व्यक्त गरेका छन् ।
राजतन्त्रको समर्थनमा अहिले जनमत नबनिसकेको र यो अहिले नेपालको लोकतन्त्रका लागि खतरा बनेको भन्ने अवस्था नरहेको उनको धारणा छ ।
बीबीसी हिन्दीसँग गरेको संक्षिप्त कुराकानीमा पूर्वराजदूत रेले राजावादीहरूको प्रदर्शनमा मानिसहरूले महसुस गरिरहेको निराशा झल्किएको बताएका हुन् । ‘रोजगारी छैन, आर्थिक विकासले गति लिएको छैन । यो भावनालाई राजतन्त्रका समर्थकहरूले प्रयोग गरिरहेका छन्,’ उनले बीबीसीसँग भनेका छन् ।
‘काठमाडौं डिलेमा रिसेटिंग इन्डिया–नेपाल टाइज’ नामक पुस्तकका लेखक समेत रहेका रेले पूर्वराजाको पक्षमा उर्लिएको भीडलाई जनतामा छाएको निराशाको रूपमा व्याख्या गरेका छन् ।
उनले प्रश्न गर्दै भनेका छन्, ‘नम्बरका हिसाबले हेर्नुभयो भने राजतन्त्रको पक्षधर रहेको राप्रपाको संसद्मा कति नै सीट छ र? अथवा उनीहरूले कति प्रतिशत नै भोट पाएका छन् र? त्यस कारण यसको पक्षमा ठूलो समर्थन हुन्छ भन्न कठिन छ ।’
गणतन्त्रकालमा नेपालमा राज्य सञ्चालनमा भएका केही समस्या र जनताको असन्तुष्टिका कारण पनि मानिसहरूले राजतन्त्रको स्मरण गरेको हुन सक्ने विश्लेषण रेको छ ।
‘पूर्वराजाले अहिले पनि आफ्नो समर्थन कायमै राख्नुलाई जनताले उनको शासन फिर्ता चाहेको अर्थमा बुझ्न मिल्दैन । बरु उनीहरूले अहिलेका मूलधारका राजनीतिक शक्तिहरूप्रति आफ्नो असन्तुष्टि पोख्न यो माध्यम प्रयोग गरिरहेका हुन सक्छन्’, कुराकानीमा रेले भनेका छन् ।
नेपालमा विकसित घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै पूर्वराजदूत रेले नेपालमा राजसंस्था पक्षधर शक्तिले युवाहरूसहित मानिसहरूको ठूलो भिड सडकमा ल्याउन भने सफल भएको उल्लेख गरेका छन् ।
उनी सरकारको काम परिणाममुखी हुन नसकेकाले असन्तुष्टि सडकमा प्रतिबिम्बित भएको ठान्छन् । त्यसलाई विभिन्न तत्त्व र शक्तिले आफ्नो स्वार्थअनुरूप परिचालन गर्न खोजिरहेको रेको बुझाइ छ ।
‘काठमाडौं डिलेमा रिसेटिंग इन्डिया–नेपाल टाइज’ पुस्तकमा उनले नेपालमा पञ्चायती व्यवस्थामा तुलसी गिरी नेपालका यस्ता पहिलो प्रधानमन्त्री थिए जो आरएसएसका पनि सदस्य रहेको उल्लेख गरेका छन् । नेपाललाई हिन्दू राष्ट्र बनाउने आइडिया गिरीकै रहेको प्रसंग रेले पुस्तकमा उल्लेख गरेका छन् ।
‘तुलसी गिरीको समयमा भारतका हिन्दूवादी संगठन र नेपालको राजदरबारबीच गहिरो सम्बज्ध थियो । सन् १९६२ मा जारी भएको संविधान अन्तर्गत नेपाल हिन्दू राष्ट्र बनेको र यसलाई बनाउने श्रेय राजा महेन्द्रलाई जान्छ’, पुस्तकमा भनिएको छ ।
यद्यपी भारतमा जुन पार्टीको सरकार सत्तामा जान्छ। त्यसको असर नेपालको राजनीतिमा पर्दै गएको दृष्टान्त पनि उनले दिएका छन् । भारतमा वामपन्थीको सरकार हुँदा नेपालका वामपन्थी र माओवादीसँग राम्रो सम्बन्ध रहेको उल्लेख उनले गरेका छन् ।
अहिले भारतको राजनीतिक नेतृत्व समाजवादीहरूले गरिरहेको र हिन्दुत्वको राजनीति सत्तामा रहेका कारण त्यसका प्रभाव पनि नेपालमा पर्न सक्ने उनको अनुमान छ ।
गत असारमा प्रधानमन्त्री भएका केपी ओलीलाई भारतले राजकीय भ्रमणका लागि निम्तो नदिएको विषयमा पूर्वराजदूत रेले आफ्नो धारणा प्रकट गरेका छन् । ‘भारतले छिट्टै ओलीलाई निम्तो दिने आफूलाई लागेको छ’, उनले भनेका छन् । रेका अनुसार केही हिन्दूवादी नेताहरू व्यक्तिगत रूपमा नेपालमा हिन्दूराष्ट्र वा राजसंस्थाको पक्षमा भए पनि त्यो भारत सरकारको नीति भने होइन ।
‘भारत धेरै ठूलो र विविधतायुक्त देश हो । तर मलाई लाग्छ भारत सरकारको दृष्टिकोण स्पष्ट छ । तर पक्कै पनि त्यहाँ केही व्यक्तिहरू वा संस्थाहरू हुन सक्छन् जहाँ कसैले हिन्दूराष्ट्रको पुनस्र्थापना र कसैले राजतन्त्र पुनस्र्थापनामा समर्थन गरेका हुन सक्छन्’, उनको भनाइ छ ।
‘तर भारत सरकारले यसमा कुनै अडान लिएको जस्तो मलाई लाग्दैन । स्पष्ट रूपमा भन्नुपर्दा यो नेपालको सरकार र जनताले निर्णय गर्ने कुरा हो । नेपालमा कस्तो प्रणाली हुने भनेर भारतले भन्ने कुरा होइन’, उनले स्पष्ट गरे ।
यद्यपि नेपाली जनताको आकांक्षालाई भारतले विगतमा पनि समर्थन गरेको र राजा हुँदा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको दुई खम्बे नीति तथा गणतान्त्रिक व्यवस्थाको दलहरूको निर्णयलाई पनि स्वागत गरेको उनको बुझाइ छ । ‘त्यस कारण आफ्नो देशमा कस्तो प्रणाली चाहन्छन् भन्ने विषयमा नेपाली जनताको मनोकांक्षालाई भारतले सधैँ समर्थन गरिरहेकै छ’, उनले भनेका छन् ।




प्रतिक्रिया