सौरभ गांगुली बने दिल्ली क्यापिटल्सका प्रमुख प्रशिक्षक

सौरभ गांगुली बने दिल्ली क्यापिटल्सका प्रमुख प्रशिक्षक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली- पूर्व भारतीय कप्तान सौरभ गांगुलीलाई दिल्ली क्यापिटल्सले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

गांगुलीले यसअघि दिल्ली क्यापिटल्ससँग ‘डाइरेक्टर अफ क्रिकेट’का रूपमा काम गरिसकेका छन्। उनले सन् २०२५ मा प्रिटोरिया क्यापिटल्सको मुख्य प्रशिक्षकका रूपमा पहिलोपटक कोचिङ जिम्मेवारी सम्हालेका थिए।

गांगुलीले आईपीएलमा ५९ खेल खेल्दै १ हजार ३४९ रन बनाएका छन्। उनको उच्चतम् स्कोर ९१ रन हो भने सात अर्धशतक बनाएका छन्। उनले कोलकाता नाइट राइडर्स र पुणे वारियर्स इन्डियाको कप्तानीसमेत गरेका थिए। आईपीएलमा उनको नाममा १० विकेट पनि छ।

गांगुलीले सन् २००८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यु गरेका थिए भने २०१२ मा पुणे वारियर्सबाट अन्तिम खेल खेलेका थिए।

गांगुलीले भारतका लागि १६ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनले सन् १९९२ मा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। सन् १९९६ मा इंग्ल्यान्डको लर्ड्समा टेस्ट डेब्यु गर्दै उनले १३१ रनको शतकीय पारी खेलेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा गांगुलीले ११३ टेस्टमा ७ हजार २१२ रन तथा ३११ एकदिवसीय खेलमा ११ हजार ३६३ रन बनाएका छन्। उनले टेस्टमा १६ र एकदिवसीयमा २२ शतक प्रहार गरेका छन्।

सन् २००० मा भारतीय टोलीको कप्तान बनेका गांगुलीको नेतृत्वमा भारतले विदेशमा केही महत्वपूर्ण टेस्ट शृंखला जितेको थियो। उनको कप्तानीमा भारत सन् २००३ को विश्वकपको फाइनलसम्म पुगेको थियो।

सन् २००२ को च्याम्पियन्स ट्रफीमा भारत फाइनल पुगेको थियो। फाइनलमा श्रीलंकासँग खेल वर्षाका कारण बराबरीमा टुंगिएपछि भारत र श्रीलंकाले ट्रफी साझा गरेका थिए।

त्यही वर्ष भारतले लर्ड्समा नेटवेस्ट ट्रफी जितेको थियो। गांगुलीले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।