पुष्प मेलामा १ करोड बढीको कारोबार

पुष्प मेलामा १ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी काठमाण्डुको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६औं फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ ।

चौथो दिनसम्म १ करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

चौथो दिन मेलामा १० हजारभन्दा धेरैले अबलोकन गरेका छन् भने अन्तिम दिन मात्र २१ लाख ८० हजारको कारोबार भएको छ ।

सोमबारसम्म चलेको पुष्प मेला अवधिभरमा ५९ हजार बढीले अवलोकन गरेको र १ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल) ले जानकारी दिए ।

मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ १, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी २ र फूडस्टल ३ वटासहित जम्मा ८३ वटा स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

४ दिने मेला अवधिमा बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीले समेत मेला अवलोकन गरेका थिए । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, कृषि सचिव गोविन्दप्रसाद शर्मा लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले पनि मेला अवलोकन गरेका थिए ।

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरू, सुनखरीका फूल बिरुवाहरू, फलफूलका बोटबिरुवाहरूको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । मेलामा फूल प्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरूप नै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को वर्ष गरिने मेला अन्तरराष्ट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।

नेपालमा विक्रम संवत् २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास छ । यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र विक्रम संवत् २०४९ सालताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरू रहेको थियो । जब २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएशन नेपालको स्थापना भयो, त्यसपछि मात्र पुष्पको व्यावसायिक विकास, विस्तार र प्रबद्र्धनले गति लिएको छ ।

हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रही व्यवसाय गरिरहेको, अनुमानित लगानी ८ अर्ब ८३ करोडभन्दा बढी रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ५१ हजार ५०० भन्दा बढी जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी छ ।