परराष्ट्रमन्त्री राणाद्वारा युक्रेनी समकक्षीसँग भेटवार्ता, ‘नेपालीलाई मुक्त गरिदिनुस्’

परराष्ट्रमन्त्री राणाद्वारा युक्रेनी समकक्षीसँग भेटवार्ता, ‘नेपालीलाई मुक्त गरिदिनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनी विदेशमन्त्री एन्द्री सिबिहासँग भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा उनले युक्रेनी सेनाको कब्जामा रहेका ७ जना नेपालीको रिहाइ गरिदिन आग्रह गरेकी छन् ।

भारतको नयाँदिल्लीमा आयोजित ‘राइसिना डायलग’ सहभागी हुन आएका युक्रेनका विदेशमन्त्री सिबिहासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा मन्त्री राणाले नेपाली नागरिकको रिहाइका लागि आग्रह गरिन् ।

मानव तस्करहरूमार्फत नेपालीलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको भन्दै मन्त्री राणाले रुसी सेनामा कार्यरत ७ नेपाली युद्धबन्दीलाई रिहाइ गरिदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नेपालको कुनै नीति नरहेको पनि युक्रेनका विदेशमन्त्रीलाई स्पष्ट पारेकी छन् । नेपालको दुर्गम क्षेत्रबाट जबरजस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको भन्दै राणाले ती ७ नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरेकी छन् ।

जवाफमा युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका जनाइएको छ । मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएकाले युक्रेन सरकारलाई सहयोग गर्न पनि आग्रह गरेकी छन् ।

भेटमा २ देशबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भेटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।