काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको मूल नेतृत्वमा ल्याउनुपर्ने चर्चा यदाकदा सुनिँदै आएकोमा अब खुला ‘लबिङ’ सुरु भएको छ ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अनलाइन सञ्चारमाध्यम सौर्य अनलाइनमा लेख नै लेखेर ‘एमाले नेतृत्वमा विद्या भण्डारीको अपरिहार्यता’को विश्लेषण गरेका छन् ।
उनले पार्टीको आसन्न महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई बिदा लिएर पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने तर्क गरेका छन् । उनले लेखेका छन्, ‘ हिजो नेतृत्व हस्तान्तरणको मुद्दाको नेतृत्व उहाँ (ओली) ले नै गर्नुभएको हो । पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यासको नेतृत्व पनि उहाँले गर्नुभयो । अब उहाँ ७० वर्षभन्दा बढी भइसक्नुभयो । एउटै व्यक्तिले राल, सिंगान काडुञ्जेलसम्म पनि नेतृत्व गरिरहनु हुँदैन । नयाँ पुस्तालाई दिनुपर्छ । एमालेमाथि कुनै संकट आउन दिनु हुँदैन । सहज ढंगले ओलीले अरूलाई नेतृत्व हस्तान्तरण गर्छु भन्ने बित्तिकै साझा व्यक्ति विद्या भण्डारी हो ।’
लेखमा एमालेका प्रभावशाली उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल लगायत पदाधिकारीको ठूलो पंक्ति विद्यालाई अध्यक्ष बनाउँदा सहज हुने पक्षमा रहेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘ हामीले महाधिवेशनमा निर्वाचन नै लड्नुपर्छ भन्ने सोचेका छैनौं । जब सहजै समाधान हुने स्थितिमा छ भने जबरजस्ती मुठभेडतर्फ लैजाने, अस्वस्थ प्रतिस्पर्धा गर्ने, विभाजनको रेखा कोर्न आवश्यक छैन । केपी शर्मा ओलीले अब विकल्प दिनुपर्छ । मैले अगाडि सार्दा उहाँको भनेर एउटा शब्द भन्न बित्तिकै अहिले केही मान्छेले त्यो हुनै सक्दैन भनेर भनिरहेका छन् ती सबभन्दा पहिले दौडिएर गएर मैले त उहिल्यैदेखि यो कुरा सोचेको थिएँ, हुनुपर्ने यहीँ हो भनेर भन्नेवाला छन् । चुनाव नै गर्नुपर्दैन । उहाँपछि विष्णु पौडेल वा शंकर पोखरेलको मुख्य रूपमा चर्चा हुन्छ । स्वयं विष्णु पौडेलदेखि लिएर एमाले पदाधिकारीको ठुलो पंक्ति विद्या आउनुभयो भने सहज ढंगले स्वीकार्य हुन्छ हाम्रो लागि पनि भन्छन् । टक्करमा किन जाने, त्योभन्दा पछि समय आउला, पालो आउँला । हामीले मान्नुपर्छ । पार्टी हितमा हुन्छ । हामी लडेर पार्टीभित्र विभाजन ल्याउनुभन्दा त्यो ठिक हुन्छ भन्ने ठूलो पंक्ति छ ।’
पूर्वराष्ट्रपति भण्डारीले समेत पूर्वी नेपालको विराटनगर क्षेत्रमा विभिन्न कार्यक्रममार्फत एमालेपंक्तिभित्र सक्रियता बढाएकी छन् । तर कतिपयले पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा सक्रिय हुन नहुने भन्दै आलोचना गर्ने गरेका छन् ।
उता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको पार्टी राजनीतिमा सक्रिय देखिन थालेका छन् । स्थायी कमिटी सदस्य थापाले विद्यालाई एमाले नेतृत्वमा ल्याउँदा वाम–प्रजातान्त्रिक सहकार्य र वामपन्थी एकताका लागि सहज हुने तर्क पनि गरेका छन् ।
थापाको लेखसँगै पूर्वराष्ट्रपति विद्यालाई एमाले नेतृत्वमा ल्याउन खुला बहस सुरु भएको छ । यसमा विद्या र केपीको प्रतिक्रिया के रहन्छ ? हेर्न बाँकी छ ।
एमालेको १०औं महाधिवेशन २०७८ मंसिर १०–१३ गतेसम्म चितवनमा भएको थियो । महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीको कार्यकाल ८३ मंसिरसम्म छ । एमाले महाधिवेशन हुन डेढ वर्ष समय बाँकी छँदै पूर्वराष्ट्रपति विद्यालाई अध्यक्ष बनाउन लबिङ थालिएको छ ।




प्रतिक्रिया