आज पनि संवैधानिक परिषद् बैठक देउवा नगएपछि स्थगित

आज पनि संवैधानिक परिषद् बैठक देउवा नगएपछि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार बिहान बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि स्थगित भएको छ। आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

मंगलबार बस्ने भनिएको बैठक देउवाकै कारण पुस ५ गतेका लागि सारिएको थियो। तर प्रधानन्यायाधीशको नाम प्रस्ताव गरी संसदीय सुनुवाई गरेर नियुक्ति गर्न ढिलाइ हुने भएको भन्दै प्रधानमन्त्री ओलीले बैठक आजै बिहान बोलाएका थिए। तर मंगलबार राति ९ बजे एक्कासि खबर आएकाले सभापति देउवा जान नभ्याएको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन्।

मंसिर १६ गते बैठक चल्दाचल्दै परिषद्का सदस्य तथा विपक्षी दलका नेता देउवा बाहिरिएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउँदैछन्।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो।