संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार : पूर्वराष्ट्रपति यादव

संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार : पूर्वराष्ट्रपति यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ को बिहिबार यहाँ विमोचन गर्दै उनले कांग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिनुए। विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा कांग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए। विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए। कांग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उहाँको जोड थियो । पुस्तक जनता प्रसारण तथा प्रकाशन लिमिटेडले प्रकाशन गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले कांग्रेसले भनेको समाजवाद लोकतान्त्रिक पद्धतिबाट प्राप्त हुने र कम्युनिष्टले चाहेको समाजवाद वर्ग सङ्घर्षबाट प्राप्त हुने बताउँदै कांग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद, उदार अर्थनीति, लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिष्ट दलहरु आउनु खुशीको कुरा हो भने ।

नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेस नेतृत्वका सरकारले अवलम्बन गरेका नीतिबाट नै शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, व्यापारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको उहाँले जानकारी गराउनुभयो । केन्द्रीय सदस्य प्रदीप गिरीले ग्रामीण क्षेत्रका निमुखा जनताको हितमा काम गर्न गान्धी, माओ र बिपीका विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै जनतालाई समावेश नगरी गरिने विकास दिगो र प्रभावकारी नहुने बताए ।

प्रा डा लोकराज बरालले राजनीतिमा समाजवादका विभिन्न परिभाषा र नाम भए पनि निमुखा जनताको हितमा गरिने काम नै वास्तविक समाजवाद हो भने। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजय पौडेलले पुस्तकका प्रमुख विशेषताका बारेमा चर्चा गर्दै समाजवादको स्थापना र उद्देश्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।